सन १९९० को दशक सुरु भएपछि नवउदारवाद अवधारणा अन्तर्गत वासिङ्टन सहमति विश्व अर्थव्यवस्था सञ्चालन गर्ने मन्त्रका रूपमा देखाप¥यो । तर यस्ता विश्वव्यापी सिद्धान्तले अपेक्षाकृत परिवर्तन गर्न नसकेको वास्तविकता पश्चिमी देशका विद्वानहरूले विश्लेषण गर्न थालेका छन् । विश्वव्यापीकरणको आलोचनात्मक विश्लेषण संयुक्त राज्य अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्रोफेसर जोजफ स्टिगलिज, प्रिन्सटनका पाउल क्रुगम्यान एवं हार्वार्डका डानी रोडरिग्सजस्ता विद्वानहरूको लेखमा पाइन्छ । जेफरी साक्ससमेत वासिङ्टन सहमतिबारे शङ्का गर्दछन् । वातावरण र मानवअधिकारवादी सङ्घ–सङ्गठनहरू त विश्वव्यापीकरणको मानवीय अनुहार नरहेको, अन्तर्राष्ट्रिय बजारले विकासशील तथा गरिब राष्ट्रमा गरिबी झन् बढाउने, प्रजातन्त्र कमजोर पार्ने, महिलाहरूको उत्थानमा नकारात्मक असर पर्ने, वातावरणीय ह्रास हुने र बालश्रम बढ्ने जस्ता आलोचना प्रस्तुत गर्दछन् । विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्राकोश तथा विश्व व्यापार सङ्गठनहरूको बर्सेनि सभा हुँदा यस्ता आलोचना उग्र विरोधको रूपमा पनि प्रकट हुन्छ ।