महानगर आफैंले दमकल खरिद गर्ने – मेयर शाक्य

ISET Nepal

महानगरीय आपतकालीन केन्द्र र राहत कोष सञ्चालन कार्यबिधिको खाँचो

चन्द्रमणि भट्टराई
चैत्र १५

काठमाडौं । महानगरसँग अहिले भएका दमकलहरु उपहारमा आएका हुन् । आगलागीका घटना नियन्त्रण गर्न यिनै साधन तथा उपकरणको प्रयोग हुँदै आएको छ । उपहारमा आएकोले यिनीहरुको गुणस्तरका बिषयमा पनि कहिलेकाहीँ प्रश्न उठ्छन्, महानगरको बिपद् व्यवस्थापन क्षमताका बिषयमा कुरा गर्दै मेयर बिद्यासुन्दर शाक्यले —अब महानगर आफैंले अत्याधुनिक दमकल खरिद गर्ने बताउनुभएको छ । शुक्रबार आइसेट नेपालको, सुरक्षित सहर परियोजनाको प्राबिधिक सहयोगमा काठमाडौं महानगरले आयोजना गरेको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका कानुनी प्रावधान सम्बन्धि अन्तरक्रियाको समापनमा बोल्दै मेयर शाक्यले यस्तो बताउनु भएको हो ।
विपद् व्यवस्थापनका चरणलाई कानुनी र व्यवहारिक दुवै पक्षबाट हेरिनुपर्छ । मेयर शाक्यले थप्दै भन्नुभयो — आदेश र विवेक छुट््याउन सक्ने क्षमताको आवश्यकता छ । कानुनी आधारमा बिबेक पु¥याएर जोखिम उठाउन सक्ने जनशक्ति र संरचनाको व्यवस्थामा ध्यान दिनुपर्छ ।

अन्तरक्रियामा बोल्दै उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले — सचेत र सबल समुदायमा विपत्तिको असर कम हुने बताउँदै यसप्रकार समुदाय निर्माणमा सहभागिता चाहिने बताउनुभयो । बिपत्तिमा समस्याको चरित्र छुट्टै हुन्छ । यो चरित्र चिनेर आचरण गर्न सक्ने समुदाय बनाउनु पर्छ, उहाँको जोड थियो ।

महानगरको भित्री सहरी क्षेत्र मानव सृजित विपत्तकै दृष्टिले पनि जोखिमपूर्ण छ । बिपद्का समयमा मानिस आत्तिएर वा संरचना भत्किएर जनधनको क्षति हुने सम्भावना छ । अन्तरक्रियामा बोल्दै महानगरको विपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले — यस क्षेत्रको व्यवस्थापन महानगरले एक्लेले गर्न नसक्ने बताउनुभयो । आर्थिक प्राविधिक र क्षेत्राधिकारको कुरा छ । यसमा संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा उहाँको जोड थियो । यस अघिको बिपत्तिबाट महानगरले धेरै पाठ सिकेको छ । आपत्मा काम गरिन्छ । तर पछि कार्यबिधि मिलेन भनेर बिबाद सृजना हुन्छ । अन्तरक्रियामा विपद् व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ शाक्यले भन्नुभयो — महानगर ठोस कानुनी आधार बनाएर पूर्वतयारीमा जुटेको छ ।

अन्तरक्रियामा बिपद् जोखिम न्युनीकरणको बिश्वव्यापी ढाँचा तथा नेपालको संबिधानमा यस सम्बन्धि प्रावधान, ऐन, राष्ट्रिय नीति तथा रणनीतिक कार्ययोजना, स्थानीय सरकार सञ्चालन कार्यबिधि, आपत्कालीन कार्य सञ्चालन कार्यबिधि, बिपद् व्यवस्थापन कोषलगायतका विषयमा कार्यपत्र प्रस्तुती तथा छलफल गरिएको थियो ।

सेन्दाइ फ्रेम वर्क ह्योगो कार्यढाँचा अनुसार सरकार र सरोकारवाला निकायले तयार गरेको विपद् क्षति न्युनीकरण सम्बन्धी कामको योजना हो । ह्योगो कार्यढाँचा उत्थानशील समुदायसँग सम्बन्धित छ ।
सेन्डाइ कार्यढाँचाले प्रकोपको सम्मुखता तथा संकटासन्नताको आयाम र जोखिम न्युनीकरण सम्बन्धि बुझाइमा सुधार आउने अपेक्षा गर्दछ । विपद् शुशासन, व्यवस्थापनका लागि जवाफदेहिता, कामको सम्मान, प्राकृतिक सम्पदाको संरक्षण, बिश्वव्यापी साझेदारिताजस्ता कामसँग सम्बन्ध राख्छ । यसको कार्यान्वयन, सहजीकरण, ताकेता र पुनराबलोकन संयुक्त राष्ट्र संघीय बिपद् जोखिम न्युनीकरण सचिवालयले गर्छ ।
अन्तरक्रियाबाट महानगरको आपत्कालीन केन्द्र सञ्चालन कार्यबिधि तथा राहत कोष सञ्चालन कार्यबिधि छलफलमा ल्याउनु पर्ने खाँचो देखाइएको थियो ।

महानगरले अहिले वडा १० १२ र ३१ मा आइसेट नेपालसँगको सहकार्यमा सुरक्षित सहर परियोजना सञ्चालन गरिरहेको छ । त्यस्तै जोखिम नक्साङ्कनको काम पनि गरिरहेको छ । यसमा प्राकृतिक तथा मानव सृजित बिपत्तिका दृष्टिमा कुन स्थान कस्ता छन् । सबैभन्दा बढी जनधन धनको क्षति भएको र हुन सक्ने स्थानको पहिचान हुनेछ । यसरी पहिचान गरिएका स्थानहरुमा हुनसक्ने क्षति कम गराउन समुदायलाई तत्पर बनाउने, उनीहरुलाई आवश्यक पर्ने श्रोत साधनको जोहो गर्ने लगायतका काम हुनेछन् । यी आपतका अवस्था थाहा पाउन यस अघिका घटना, अहिलेको अवस्था र सम्भावनालाई आधार बनाइनेछ । यसका लागि वडास्तरीय बिपद व्यवस्थापन तथा नागरिक सुरक्षा समितिको अगुवाइ हुनेछ ।

source: http://kathmanduonline.gov.np/