अनुराग पोखरेल
पुस्तक : जीरो टु वन: नोटस अन स्टार्टअप्स अर हाउ टु विल्ड द फ्युचर
लेखक : पिटर थेल र ब्लेक मास्टर्स
प्रकाशक: क्राउन बिजनेस, २०१४ पृष्ठ: १९५+ मूल्य: रु. १५०० (मोटो गाता)
जीरो टु वन ः नोटस अन स्टार्टअप्स अर हाउ टु विल्ड द फ्युचर पिटर थेल र ब्लेक मास्टर्सको संयुक्त प्रस्तुति हो । पिटर थेल अमेरिकी उद्यमी, लगानीकर्ता र चिर–परिचित लेखक हुन् । लेखक थेल प्यालेनटिर टेक्नोलोजी र फाउण्डर्स फण्डका सह–संस्थापक मात्रै होइन फेसबुक र स्पेसएक्सजस्ता अमेरिकाका अग्रणी कम्पनीहरुका लगानीकर्ता पनि हुन् । उनी पेपाल नामक कम्पनीका सह–संस्थापक र केही समय त्यस कम्पनीका मुख्य कार्यकारी अधिकृत थिए । थेल र उनका पेपालका सहकर्मीहरु आफ्नो उद्यममा ठूलो सफलता हासिल गर्नेमध्ये पर्छन् । उनीहरुलाई पेपाल माफियाको उपाधि पनि दिइएको छ । सन् १९९९मा स्थापना भएको आफ्नो कम्पनीलाई उनीहरुले सन् २००२ मा १.५ बिलियन अमेरिकी डलरमा इवेलाई बेचे ।
स्ट्यानफोर्ड विश्वविद्यालयमा पढाउँदा थेलले आफ्ना विद्यार्थी ब्लेक मास्टर्सको सहयोगले शून्यदेखि एकसम्म नामक दस्तावेज संयोजन गरे । विद्यार्थी मास्टर्सले अध्ययनको सिलसिलामा थेलको लेक्चर नोटहरु विस्तृत रुपमा तयार गरे । पछि वितरण गरिएको यो दस्तावेज भाइरल बन्न पुग्यो । उक्त दस्तावेजको वृहत सम्भावना बुझेपछि थेलले आफ्ना विद्यार्थीको सहकार्यमा त्यसलाई पुस्तकको रुप दिए । थेल भन्छन्, पुस्तक सफलताको सुत्र होइन तर उनले आफ्नो व्यवसायिक यात्रामा आपूmले सिकेका पाठ, अनुभव र आविष्कारका लागि सुझावको सङ्ग्रह हो ।
लेखक प्रारम्भिक व्यवसायीहरुलाई एकदेखि एनको (वन टु एन) पाइला नलिएर शून्यदेखि एक (जीरो टु वन)को बाटोमा लाग्ने सल्लाह दिन्छन् । उनी भन्छन्, एकदेखि एन भन्नुको अर्थ सम्पन्न भइसकेको कामको नक्कल गर्नु हो । शून्यदेखि एक भनेको आफैँ अद्वितीय काम गर्नु हो । लेखकको सन्देश बुझ्न निम्न उदाहरण उपयोगी छन् । परम्परागत कम्प्युटरमा प्रयोग गरिएका भ्याकुम ट्युबहरुको क्षमता मात्र वृद्धि गर्ने बाटो लिइएको भए आज हामी आफ्नो ब्यागमा कम्प्युटर बोक्न सक्ने बन्ने थिएनौँ । असङ्ख्य गणनायुक्त प्रविधिलाई एउटै तर सानो ठाउँमा बोक्ने पोर्टेबल कम्प्युटरको विकासलाई एउटा धन्य उपलब्धी मान्नुपर्छ ।
२०औँ शताब्दीको आरम्भमा अटोमोविल को विकासले वन टु एन बुझाउँछ भने गुड्नेबाट उड्ने पद्धतिले जीरो टु वन बुझाउँछ । थेल भन्छन्, शून्यदेखि एक, प्रविधि हो भने एकदेखि एन वृहत प्रारुप । ढुङे युगबाट आगो, कृषि, पाँग्रादेखि सेमिकन्डक्टर र ईन्टरनेट मानव जातिले विकास गरेको प्रविधि हो । वृहत प्रारुपको उनको तर्क बलियो देखिन्छ । तिब्र गतिमा शहरीकरण बढ्दै गरेका भारतजस्ता मुलुकहरुले अमेरिकाले लिएको बाटो अपनाइरहकोे छ । विगत पाँच दशकदेखि चीनले अपनाइरहेको बाटो यही नै हो । ठूलो मात्रामा आविष्कार नगरेर अमेरिकी हुने बाटो दिगो रहन सक्दैन । क्रियाकलापहरु वातावरणका लागि विध्वंशकारी हुन सक्छन् । तत्कालीन कालखण्डमा त्यो मोडल उनका लागि उपयोगी हुन पुगेको छ तर हाल आएर त्यो मोडल अन्यत्रकाले पनि नक्कल गर्न थालेका छन् । यस्तो नक्कल मिल्दैन । यसै पनि खनिज तेलमा आधारित यो मोडलले जलवायु परिवर्तन अनपेक्षित असरको रुपमा विश्वलाई दिएको छ । अनियन्त्रित जलवायु परिवर्तनले विनाशकारी प्रभाव ल्याउन सक्छ ।
एकाधिकारलाई लेखक थेल व्यवसायमा द्रुत वृद्धि गर्ने सफल सुत्र मान्छन् । उनको भनाइ माफिया र सरकारको छत्रछाँयामा भएकाहरुले राख्ने एकाधिकार होइन बरु विशिष्ठ उत्पादन गर्ने त्यस्तो क्षमता हो जसको छेउछाउ अन्य विकल्प आउन सक्दैनन् । एकाधिकारको एउटा उदाहरण हो गुगल । गुगलले विकास गरेको अल्गोरिदम, गति र क्षमतालाई अरु कुनै यन्त्र वा कम्पनीले उछिन्न सकेका छैनन् । थेल भन्छन्, प्रधिस्पर्धा एकाधिकारको विपरीत हो जसले उपलब्धि कम गर्छ । प्रतिस्पर्धाले प्रवर्तकलाई बजार नाफाको सानो भाग मात्र दिन्छ, प्रतिस्पर्धीहरुमा असफल हुने त्रास रहिरहन्छ । लेखक भन्छन् सफल कम्पनीहरु फरकफरक हुन्छन् तर असफल कम्पनी एकै किसिमका । प्रतिस्पर्धा गर्न नसक्दा ती असफल हुन्छन् । प्रतिस्पर्धा मात्र एउटा बाटो हो भन्ने हामी सबै सोच्छौं । स्कुलका प्रारम्भिक दिनदेखिनै हामीलाई व्यक्तिको जे जस्तो विशिष्ट क्षमता भए पनि उनीहरुले एकै प्रकारको प्रतिस्पर्धामा सहभागी हुनुपर्छ र राम्रो ग्रेड हासिल गर्नुपर्छ भन्ने सिकाइन्छ । फेसबुक, अमेजन र एप्पलजस्ता प्रविधिमा आधारित कम्पनीको उदाहरण दिँदै पुस्तकले प्रतिस्पर्धाबाट कसरी बच्ने र एकाधिकारको चरित्रलाई कसरी चरितार्थ गर्ने भन्ने सल्लाह दिएको छ ।
उद्यमीहरुले पुस्तकबाट के सिक्न सक्छन् त ? शून्यदेखि एक र एकाधिकारी विचारको घेरामा रहेर लेखकले पाठकलाई व्यवसायका गतिशीलताका बारे बताएका छन् । उनी भन्छन् प्रारम्भिक आधारलाई बलियो बनाउनु, सहि सहकर्मी चयन गर्नु, लामो अवधिको लागि योजना बनाउनु महत्वपुर्ण विषय हुन् । लेखक थेलको सारांश छ, हरेक उद्यमीले निम्नलिखित सातवटा प्रश्नहरुको उत्तर दिनसक्नुपर्छ । प्रश्नहरु निम्न विषयहरुसित सम्बन्धित छन्, इन्जिनीयरिङ (वृद्धिको सुधारभन्दा प्रविधिको सुधार), समय (व्यवसाय प्रारम्भ गर्ने सही समयको चयन), प्राधिकार (ठूलो सेयरमा सानो बजार), मानवीय स्रोत (सही सहकर्मी वा समुहको चयन), वितरण ( उत्पादन मात्र होइन सही वितरण), दिगोपन (बजारको समय अवधि १० देखि २० वर्षको चयन) र गोप्यता (अरुले नदेखेका अवसर) । उल्लेखित एक वा बढी प्रश्नको उत्तर दिन सकिएन भने उद्यम सफल हुनेछैन । यस्ता प्रश्नहरु दृष्टिगोचर नगर्दा २१औँ शताब्दीमा फड्को मार्ने स्वच्छ प्रविधि प्रवद्र्धन गर्ने कम्पनीहरु असफल भए जबकि टेस्ला नाम गरेको कम्पनी अपवाद बन्यो ।
पुस्तक उद्यमीहरु मात्रै होइन शिक्षकहरुलाई पनि उपयोगी छ । प्राज्ञिक क्षमता आवश्यक आधार हो तर विद्यार्थीहरुलाई आफ्नो दक्षता कसरी व्यवहारमा उतार्ने तरिका सिकाउनु जरुरी हुन्छ । लेखक थेलसुझाव दिन्छन,सबैभन्दा महत्वपूर्ण विषय हो, विद्यार्थीहरुलाई आफ्नो लागि आफैँ सोच्न प्रोत्साहन गर्नु । सानो तर पढ्न चाखलाग्दो पुस्तकमा राम्रा उद्धरणहरु छन् तर उनका सबै धारणाहरु मान्नु जरुरी छैन । उनका केही भनाइ विवादास्पद र अमान्य छन् । बढ्दो आर्थिक असमानता, वातावरण प्रदुषण, बढ्दो राजनीतिक र सामाजिक धु्रबीकरणजस्ता विषयहरु वर्तमान विश्वका वास्तविकता हुन् । यी वास्तविकता भीमकाय कर्पोरेसनहरुका देन पनि हुन्, यस्ता विषयहरु उद्यमी थेलका परिदृश्यमा छैनन्, हुने कुरो पनि भएन ।
पोखरेल इलेक्ट्रिकल इन्जिनियरिङका स्नातक हुन् ।