असमानताको अर्थशास्त्र (The Economics of Inequality, Manthan – Poush 2073)

असमानताको अर्थशास्त्र (Manthan - Poush 2073)

Book: The Economics of Inequality                        पुस्तक: दी इकोनोमिक्स अफ इनइक्वालिटी

Author: Thomas Piketty                                            लेखक: थोमस पिकेट्टी

Publisher: The Belknap Press of Harvard              प्रकाशक: द बेल्कन्याप प्रेस अफ हार्वर्ड युनिभर्सिटी प्रेस, २०१५

University Press, 2015

Page: 1428                                                                    पृष्ठ: १४२८

Price: $ 22.95                                                              मूल्य: २२.९५ डलर

Reviewer: Achyut Wagle                                           समीक्षक: अच्युत वाग्ले

फान्सेली भाषाबाट अंग्रेजीमा अनूदित क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी (२१औं शताब्दीमा पूँजी) विश्वभर सर्वाधिक बिक्री हुने सूची (न्यूयोर्क टाइम्स बेष्टसेलर) मा परेको पुस्तक हो । यस चर्चित पुस्तकका होनहार लेखक हुन्, पेरिस स्कूल अफ इकोनोमिक्सका प्राध्यापक थोमस पिकेट्टी । उनलाई अर्थशास्त्रीहरू ‘माक्र्सको नयाँ अवतार’ भन्छन् । दी इकोनोमिष्ट पत्रिकाले पनि सन् २०१३ मा उनलाई ‘आधुनिक माक्र्स’ को संज्ञा दिएको थियो । उनले कार्ल माक्र्सले जस्तै ‘२१औं शताब्दीमा पूँजी’ शीर्षकको पुस्तक लेखेका कारण मात्र यी उपमा पाएका भने होइनन् । बरु, उनको लेखनको समग्र अन्तर्वस्तु र रुझन नै वर्तमान पूँजीवादी विश्वव्यवस्थाप्रति तीव्र तर तथ्यपूर्ण र आलोचनात्मक प्रस्तुतिमा केन्द्रित भएकाले हो । यो पुस्तकले उनलाई विश्वकै प्रखर वामपन्थी अर्थशास्त्री बनायो ।

माक्र्सको आर्थिक सिद्धान्तको सार, पूँजीपतिहरू मजदूरले उत्पादन गरेको अतिरिक्त लाभ (सरप्लस भ्यालु) शोषण गरेर धनी हुन्छन् भन्ने हो । पिकेट्टीले अर्थतन्त्रमा विद्यमान अथवा नयाँ वितरण व्यवस्थाले सिर्जना गरेका बहुआयामिक प्रकृतिका असमानता (इनइक्वालिटिज) र खराब पुनःवितरण (रिडिष्ट्रिव्युसन) प्रणाली नै राजनीतिक द्वन्द्वका कारक भएको निष्कर्ष निकालेका छन् । यतिखेर ‘९९ र १’ प्रतिशत बीचको द्वन्द्व, (अर्थात् संसारका एक प्रतिशत मानिससँग ९९ प्रतिशत पूँजीगत सम्पत्तिको स्वामित्व र ९९ प्रतिशत मानिस फगत एक प्रतिशत सम्पत्तिमा गुजारा चलाउन बाध्य छन् भन्ने विवाद) विश्व आर्थिक बहसको प्रमुख धार बनेको छ । यसको आधार पनि पिकेट्टी र अर्का फ्रान्सेली मूलका अमेरिकी अर्थशास्त्री एम्मानुयल सेजले अमेरिकी अर्थतन्त्रभित्रमा असमानताको ऐतिहासिक (१९१३–१९९८) उतारचढाव माथि सन् २००१ मा प्रकाशित अनुसन्धानलाई मानिएको छ । (एनबीईआर वर्किङ पेपर नं. ८४६७, २००१)

खोजको आधारस्तम्भ

समीक्षा गरिएको पुस्तक दी इकोनोमिक्स अफ इनइक्वालिटी (‘असमानताको अर्थशास्त्र’) क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी बजारमा आएको दुई वर्षपछि, सन् २०१५ मा अंग्रेजीमा अनूदित भएर बजारमा आयो । फ्रान्सेली भाषामा भने दी इकोनोमिक्स अफ इनइक्वालिटी सन् १९९७ मै छापिएको थियो । ‘२१औं शताब्दीमा पूँजी’ का अनुवादक आर्थर गोल्डह्यामरले नै यो पुस्तकको पनि अनुवाद गरेका हुन् । पुस्तकले पिकेट्टीको असमानता बारेको अध्ययन र सुझ्बुझ् २६ वर्षे उमेरमै परिपक्व भएको देखाउँछ । मूलतः फ्रान्सकै तथ्याङ्क, अर्थराजनीतिक परिवेश एवं अर्थ–सामाजिक असमानताका उदाहरण समावेश गरेर लेखिएको भए पनि इकोनोमिक्स अफ इनइक्वालिटी लाई उनको ‘म्याग्नम ओपस’ (महान् कृति) क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी को आधारस्तम्भ मानिएको छ ।

दुई दशकपछि अनूदित संस्करण प्रकाशित गर्दा पनि पिकेट्टीले तथ्याङ्क अद्यावधिक गरेनन् र असमानताका नयाँ विकसित अवधारणा पनि समावेश गर्न आवश्यक ठानेनन् । त्यस कालखण्डको ‘आर्थिक असमानता र कालक्रमसँगै आएका परिवर्तनलाई प्रस्ट्याउन आवश्यक अवधारणागत र तथ्यगत पृष्ठभूमिसँग परिचय गराउन यसो गरिएको हो । मुश्किलले १५० पृष्ठको यो सटिक पुस्तक विद्यार्थी र सामान्य पाठकका लागि (असमानता बुझउने) अपरिहार्य मार्गदर्शक बनेको छ ।

इकोनोमिक्स अफ इनइक्वालिटी लाई परिचयका अतिरिक्त चार खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा असमानताको मापन र यसको विकासक्रमका बारेमा व्याख्या गरिएको छ भने दोस्रो खण्डमा पूँजी, श्रम र असमानताको कुरा । तेस्रो खण्डमा श्रम आयको असमानताको पुष्टि छ भने चौथो खण्डमा पुनर्वितरणका उपकरणहरूबारे व्याख्या गरिएको छ । उनले आयलाई पनि ज्याला पारिश्रमिक, किसान, साना व्यापारी, डाक्टर, वकील आदिको स्वरोजगारीबाट हुने कमाइ, निवृत्तिभरण, अन्य प्राप्ति जस्तैः पारिवारले पाउने अनुदान, बेरोजगार भत्ता, कल्याणकारी कार्यक्रमबाट आउने लाभ, र लाभांश, ब्याज, घरभाडा आदिका रूपमा हुने पूँजीगत आयमा वर्गीकरण गरेका छन् ।

ज्यालाजीवीको नालीबेली

त्यतिखेरको फ्रान्समा करीब दुई–तिहाइ मानिस श्रमजीवी रहेको र केवल पाँच प्रतिशतसँग मात्रै लाभांश, ब्याज, बहाल आदि पूँजीगत आयअर्जन गर्ने स्रोत रहेको तथ्याङ्क उनले दिएका छन् । यो पश्चिमा अर्थतन्त्रको साझ चरित्र हो । पारिवारिक आम्दानीको प्रमुख हिस्सा रहेको ज्याला÷पारिश्रमिक कसरी वितरण भएको छ त ? यो उनको अनुसन्धानको केन्द्रीय प्रश्न हो । उनले जनसंख्याभित्र बढी पारिश्रमिक पाउने १० प्रतिशतले बुझने रकम र कम पारिश्रमिक पाउने १० प्रतिशतले बुझने रकमको अनुपात निकालेर असमानताको मापन गरेका छन् । फ्रान्समा यो अनुपात सन् २००० को तथ्याङ्कका आधारमा ३ः१ देखिएको थियो । यो अनुपात जति थोरै भयो असमानता उति कम हुन्छ । असमानताको यो मापन अरू चल्तीका सूचकाङ्कहरू, जस्तै; ‘गिनी कोफिसिएन्ट’ आदिभन्दा निकै सरल र विश्वसनीय भएको दाबी पनि लेखकको छ ।

यस्तो ज्याला पारिश्रमिकमा देखिएको असमानता अन्ततः पारिवारिक आयको असमानतामा रूपान्तरित हुन्छ । माथिल्लो १० प्रतिशत र तल्लो १० प्रतिशत परिवारबीचको आय असमानताको अनुमान ७ः१ देखियो जुन ३ः१ को ज्याला असमानता अनुपातभन्दा निकै बढी हो । यसको कारणमा, पहिलो, पूँजीगत आय जस्ता गैरपारिश्रमिक आयहरू ज्याला–पारिश्रमिकमा आधारित आयभन्दा धेरै असमान ढङ्गले वितरित हुन्छन् । दोस्रो, उच्च धनी १० प्रतिशतले कुल (राष्ट्रिय) पूँजीगत आयको ५० प्रतिशत नै आफ्नो कब्जामा राखेका हुन्छन्, जसबाट पारिश्रमिक आय असमान रूपले बढ्छ । तेस्रो, सम्पत्तिको विद्यमान असमानता व्याख्या गर्न वर्तमान र विगतको आय असमानतालाई मात्रै आधार मानेर पुग्दैन । यसमा, बचत र सम्पत्ति जम्मा गर्ने व्यवहारजस्ता पक्षको महŒवपूर्ण भूमिका हुन्छ । यी जटिलताका कारण पनि असमानता मापन र यसलाई हेर्ने दृष्टिकोण ज्याला र आम्दानीको असमानतामा मात्र सीमित हुनु उपयुक्त नहुने पिकेट्टीको ठहर छ ।

तर पारिश्रमिक असमानताको दाँजोमा पारिवारिक आयको असमानता सधैं यसरी उल्लेख्य रूपले बढी हुनुको कारण भने फरक छ । न्यून आय भएका बहुसङ्ख्यक परिवारहरू एकल सदस्यको स–सानो पारिश्रमिक अथवा निवृत्तिभरण रकममा निर्भर हुन्छन् । जबकि, उच्च आय हुने परिवारमा सामान्यतः शिक्षित दम्पती हुन्छन्, अक्सर दुवै कमाउँछन् । (पृष्ठः १३) यो सामान्य भनाइजस्तो देखिए पनि अर्थशास्त्रीय विश्लेषणलाई समाजशास्त्रीय संरचनासँग जोडेर निकालिएको निचोड निकै महŒवको र नीतिनिर्माणमा सहयोगी मानिएको छ ।

ज्यालामा देखिएको ३ः१ अनुपातको असमानता एवं धनी र गरीब राष्ट्रहरूको प्रतिव्यक्ति आय (क्रयशक्तिको आधार) को १०ः१ को अनुपात स्थायी रहला कि घटबढ होला ? यसलाई व्याख्या गर्न उनले ऐतिहासिक तथ्यहरूलाई अघिसारेका छन् । पहिलो विश्वयुद्धको ठीक अघिसम्म आय असमानता चरम थियो । तर दुईवटा विश्वयुद्धले सम्पत्ति नष्ट गरेपछि ‘पैतृक पूँजीवाद’ को कमाइ घट्यो र त्योसँगै असमानता पनि घट्यो । तर, यो सन् १९७० को मध्यदेखि फेरि बढ्न थाल्यो । सम्पत्तिको ‘भाडा’ खाएर बस्ने १९औं शताब्दीको तुलनामा २०औं शताब्दीमा धेरै पारिश्रमिक पाउने ‘धनी श्रमिक’ व्यवस्थापकको समाजमा रूपान्तरित भयो । त्यसैले अबको असमानता पनि पहिलेको जस्तै सघन रहने उनको अनुमान छ । अहिलेको असमानताको प्रमुख स्रोत पिकेट्टीले रोजगारीको प्रवृत्तिलाई मानेका छन् । उनी भन्छन्– बेरोजगारी, अर्धरोजगारी, छद्म बेरोजगारी र उच्च पारिश्रमिकको रोजगारी आदिको स्वरूपले आउँदा दिनमा व्यक्तिगत र पारिवारिक आयको असमानतालाई व्याख्या गर्नेछ । उनले अंग्रेजी र गैर अंगे्रजी भाषी मुलुकहरूबीचको आय असमानताको तुलना गरेर आफ्नो विश्लेषणलाई सामाजिक कोणबाट हेर्ने प्रयास पनि गरेका छन् । ऐतिहासिक रूपमा जापान र वर्तमानमा चीनमा देखिएका, खासगरी मध्यमवर्ग र उच्च वर्गबीच साँघुरिंदै गरेको असमानताका सूचकहरूले भने उनका अंग्रेजी भाषा सापेक्ष असमानताका दाबी स्थापित हुँदैनन् ।

पूँँजी र श्रम

पुस्तकले पूँजी र श्रमको असमानताका अरू धेरै आयाम खोतल्ने प्रयास गरेको छ । ऐतिहासिक रूपमा विद्यमान पूँजीमाथिको असमान स्वामित्वलाई नै असमानताको मौलिक स्रोत मानेर थप विश्लेषण गरेका छन्, लेखकले । सामाजिक असमानता र राज्यका स्रोतहरूको पुनःवितरणको सवालमा, औद्योगिक क्रान्ति र खासगरी कार्ल माक्र्सका अर्थ–सामाजिक सिद्धान्तहरू सार्वजनिक भएपछि पूँजी र श्रम, नाफा र ज्याला अथवा रोजगारदाता र श्रमिकलाई एकआपसका विरोधीका रूपमा प्रस्तुत गरिएको दाबी लेखकको छ । यसमा सबै पूँजीपति (त्यस्तै श्रमिकहरूलाई पनि) लाई समान प्रकृतिको समूहका रूपमा बुझ्एिको छ । श्रमबाट भएको आयका कारण सिर्जित असमानतालाई पैतृक पूँजीपछि दोस्रो महवको मुद्दा बनाएका छन्, पिकेट्टीले ।

पिकेट्टीले यो पूँजी–श्रम असमानतालाई दुई सनातन अर्थ–राजनीतिक दर्शनहरूले अपनाउने पुनःवितरण प्रक्रियाबीचको फरकको परिणतिका रूपमा प्रस्तुत गरेका छन् । दक्षिणपन्थी खुलाबजार अर्थतन्त्रले सम्पत्तिको पुनःवितरणमा सरकारको भूमिका सीमित गरेको छ । दीर्घकालमा बजारको सुचक्र (भर्चुअस साइकल) ले आय वितरणलाई एकातर्फ कर र अर्कोतर्फ लाभ हस्तान्तरणमार्पmत स्वतः न्यायोचित बनाउने दाबी गरेको छ । यसलाई उनले ‘विशुद्ध पुनःवितरण’ (प्योर रिडिष्ट्रिव्युसन) भनेका छन् ।

वामपन्थी समाजवाद र टे«ड युनियन अभ्यास दुवैले पूँजीवादी समाजका सबभन्दा गरीबको दुःख निवारणको एकमात्र विकल्प सामाजिक र राजनीतिक संघर्ष हो भन्ने गरेका छन् । सरकारी पुनःवितरणले उत्पादन प्रक्रियाको तल्लो तहसम्म छिचोल्नुपर्ने माग उनीहरूको छ । समान ज्यालाको प्रबन्ध र उत्पादनका साधनको राष्ट्रियकरण गरेर पूँजीपतिहरूको नाफा स्वात्तै घटाउनुपर्ने तर्क पनि यो सिद्धान्तको छ । किनभने कर उठाएर गरीबलाई अलिअलि बाँड्न पुग्ने वितरण गर्ने शैली मात्र सामाजिक न्यायका लागि पर्याप्त नहुने ठहर पिकेट्टी गर्छन् । यसलाई उनले ‘प्रभावकारी पुनःवितरण’ (इफेक्टिभ रिडिष्ट्रिव्युसन) भनेका छन् ।

पूँजी–श्रम विवाद, विभेद वा असमानता जे भने पनि यसलाई लेखकले उत्पादन–वितरणको भन्दा लाभको पुनःवितरणको मुद्दा मान्छन् । यो निकै मौलिक सैद्धान्तिक प्रस्तावना हो । अप्रत्यक्ष रूपले उनले उत्पादन, वितरण र बजारीकरण प्रक्रियाबाट प्राप्त हुने लाभमध्ये पूँजी लगानीकर्ताले सधैं धेरै हिस्सा लिने गरेको तर्कलाई स्थापित गर्ने प्रयास गरेका छन् । नाफामाथि अधिक अथवा ज्यालामाथि न्यून कर लगाएर वा सोझ्ै ज्यालादर वृद्धि गरेर असमानता कम गर्न सकिने उनको तर्क छ ।

पूँजीपतिहरूले थप लगानी गर्नका लागि केही थप नाफा उनीहरूले राख्नु उचितै हो भन्ने तर्क त एक ठाउँ (पृष्ठः २६) मा उनले घुसाएका छन् । तर यही व्यवहार नै असमानताको कारक भएको उनले निकै जोडतोडका साथ वकालत गरेका छन् । उत्पादन प्रणालीमा पूँजी र श्रमबीच पारस्परिक प्रतिस्थापनको सम्भावनाको कुरा उठाइएको छ । तर सीमान्त प्रतिस्थापनको कुन बिन्दुमा उत्पादन प्रभावकारिता (प्रडक्टिभ इफिसियन्सी) उच्च हुन्छ भन्ने प्रश्नको उत्तर लेखकले दिन सकेका छैनन् ।

पिकेट्टीले पुस्तकमा पैतृक पूँजीवाद, हकका रूपमा पाएको विनाश्रम प्राप्त सम्पत्ति वा पूँजीले असमानुपातिक लाभ लिएको तर्कमा जोड दिंदै आधुनिक ज्ञान, उद्योग, सूचनाप्रविधि र भूमण्डलीकरणको लाभ लिएर पहिलो पुस्तामा नै संसारका धनी बनेका व्यवसाय र नव पूँजीपतिहरूलाई भने ख्याल राखेका छैनन् । बिल गेट्स, जुकरवर्ग, ज्याकमा वा कार्लोस हेलुहरू पैतृक सम्पत्ति पाएर धनी भएका होइनन् । अहिले संसारका धनीमध्येका एक प्रतिशतमा तिनको नाम पर्छ । असमानताको यो बहसमा उनीहरूलाई पनि अपराधीको कोटिमा उभ्याइएको जस्तो देखिन्छ ।

प्रभावकारी पुनःवितरण

असमानता अन्त्यको उपाय राष्ट्रिय आयको ‘विशुद्ध’ होइन ‘प्रभावकारी’ पुनःवितरण नै हो भन्ने निष्कर्ष पिकेट्टीको छ । पुनःवितरणका उपकरणहरू तिखार्नेे एउटा प्रमुख उपाय सामूहिक प्रतिरोध नै हो भन्ने उनको तर्क रहेको छ । “श्रम बजारमा हुने विभेद र रोजगारदाताको खरीद एकाधिकार (मोनप्सोनी) वास्तवमा अपमानपूर्ण मात्र होइन यो विभेद र शोषणविरुद्ध पीडितलाई आर्थिक क्षतिपूर्ति दिन अप्रभावकारी पनि हुन्छ । पुनःवितरणको यस्तो उपकरण आम्दानीको पुनःवितरण गर्न सक्षम भएर मात्र पुग्दैन, अपितु यस्तो असमानताका लागि जिम्मेवार बजार असफलताहरूलाई सुधार गर्न सक्ने पनि हुनुपर्छ ।” (पृष्ठः ११४) उनले सुझएका यस्ता उपकरणहरूमा सकारात्मक विभेद, न्यून पारिश्रमिक कानूनहरू, श्रम बजारमा प्रत्यक्ष हस्तक्षेप, शिक्षा र तालीम आदि छन् । ती नयाँ अवधारणा भने होइनन् । उनले सरकारले रोजगार बजारमा गर्ने किन्सको हस्तक्षेपको सिद्धान्तलाई उपयोगी साधन मानेका छन् ।

यो पुस्तकले पुनःवितरणका नयाँ उपाय सुझउन नसके पनि दुई महत्वपूर्ण बहसलाई सतहमा ल्याएको छ । पहिलो र मौलिक पक्ष हो, यसले समाजमा विद्यमान असमानताको व्याख्यामा यसअघि कल्पनै नगरिएका व्यापक आयामलाई प्रस्तुत गरेको छ । दोस्रो शान्तिपूर्ण नै सही, पुनःवितरणको मूल हतियार सामूहिक प्रतिरोध नै हो भनेर २१औं शताब्दीमा पनि बजारको भन्दा वामपन्थी सिद्धान्तको उपयोगिता स्थापित गर्ने प्रयास गरेको छ । ऐतिहासिक रूपमै असमानता मानव समाजमा कसरी–कसरी अन्तर्निहित छ भनेर देखाउने श्रमसाध्य र मौलिक शैलीका कारण यो पुस्तकको महत्व बढेको हो ।

(वाग्ले राजनीतिक र आर्थिक विश्लेषक हुन् ।)

 

Download Document