सामाजिक आन्दोलनको धक्का

युरोपेली मुलुक स्वीडेनकी किशोरी ग्रेटा थनवर्गले सन् २०१८ को संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन र स्विट्जरल्याण्डको डावोसमा सम्पन्न ‘वल्र्ड इकोनमिक फोरम–२०१९’ मा जलवायु परिवर्तनका असरसँग जुध्न गर्नुपर्ने काम नभएको भन्दै संसारभरको नेतृत्वलाई चुनौती दिइन् । उनकै आह्वानमा युरोपका शहरहरूमा विद्यार्थीले जलवायु परिवर्तनका असरहरू निदानको माग राख्दै संसद घेराउदेखि कक्षा बहिष्कारसम्मका गतिविधि गरिरहेका छन् । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय ‘इन्टरगभर्नमेन्टल पेनल अन क्लाइमेट चेन्ज– आईपीसीसी’को विशेष प्रतिवेदन–१.५ प्रकाशित भएपछि शुरू भएको यो सिलसिला कता पुग्ला भन्ने हेर्न बाँकी छ । तर, संसारलाई चुनौती दिने यी १६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी छन् ।

Article Source: http://nepalihimal.com/article/16793