Click here for COVID 19 Updates

घर भित्रको प्रदूषण र असुरक्षित बसाई

kanchan mani dixit ISET Nepal
घर भित्रको प्रदूषण र असुरक्षित बसाई

प्रदूषण कथा: कञ्चनमणि दीक्षित बिहिबार, जेष्ठ २, २०७६

आमा विमला दिदी हिजोआज विद्यालाय किन नगएकी ? दिदीलाई के भएको छ ? ओछ्यानमा सुतिराखेकी दिदीलाई देखाउँदै पाँच वर्षको केशव खाना पकाइराखेकी आमालाई प्रश्न गर्छन् । खाना पकाउँदै गरेकी आमा कुरा नसुनेको जस्तो गरी खाना पकाउन ब्यस्त रहन्छिन् । फेरि आमालाई कोट्याउँदै केशव आफ्नो प्रश्न दोहर्याउँछ ।

निम्नमध्यम वर्गको परिवारमा विवाह गरेर काठमाडौं आएकी पार्वती, श्रीमानको मृत्युपछि खचाखच घर भएको भोटाहिटीमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी छिन् । १२ वर्षकी छोरी विमला नजिकैको दरवार हाइ स्कुलमा ७ कक्षामा पढ्दै छिन् । पढाइमा उनको निकै नै रुची छ र जहिले पनि अब्बल नम्वर ल्याउँछिन् । यसले गर्दा उनी शिक्षककि प्रिय विद्यार्थी रहेकी छिन् । आर्थिक अभावका कारण छोरालाई विद्यालय हाल्न नसकेकी पार्वतीलाई अरुको घर धन्दा गरेको पैसाले घर चलाउन मुस्किल परेको छ ।

केशवको प्रश्नको उत्तर दिँदै उनी भन्छिन, दिदीलाई हिजोआज सच्चो भएन त्यसैले विद्यालय नगएर सुतिराखेकी छिन् । के भएको छ ?, केशव सोध्छन् । पार्वती— खोकीलागेको छ । खोकी के ले लाग्छ ? केशव प्रश्न गर्दै जान्छ । खै डाक्टरहरू धुवाँ र धुलोले भएको भन्छन् । धुवाँ र धुलो के ले गर्दा हुन्छ ? अब खाना पकाउने बेलामा कति कराइराखेको, पछि भनौँला भनेर पार्वती खाना पकाउन थाल्छिन् । केशवको मनमा रहेको प्रश्न मनमै रहन्छ अनि ऊ खेल्नतिर लाग्छ ।

हामीले पनि आफ्नो बाल्यकालमा यस्तो स्थितिको सामना धेरै पटक गरेको छौं होला । मनमा पटक पटक प्रश्न उठेका थिए होलान् । यो स्वभाविक हो । साना साना बालकको मन सधैँ सिक्ने प्रयासमा लागिराखेको हुन्छ । यस्ता धेरै प्रश्नको उत्तर नै नपाई त्यत्तिकै हराएर जान्छन् । धेरै प्रश्नको उत्तर तिमी ठूलो भएपछि थाहा पाउने छौं भन्ने आउँछ । हाम्रो समाजमा साना साना बालबालिकाले प्रश्न सोध्न थालेमा कति कराएको चूप लागेर बस्न सक्दैनौ भन्ने गरिन्छ, जबकि प्रश्नबाट नै जिज्ञासा सुरु हुन्छ र ज्ञानको बाटो खुल्छ । विकसित देशमा बालकका यस्ता प्रश्नलाई झर्को नमानिकन उत्तर दिने प्रयास गरिन्छ, जसले गर्दा उनीहरूको प्रश्न सोध्ने बानि बस्छ र पछि प्रगति गर्दै जान्छन् । प्रश्नको उत्तर नपाउनु नै हाम्रो समाज र बालबालिकाको प्रगतिबीचको ठूलो अन्तर रहेको छ ।

फेरि प्रसंगतिर लागौं । खेल्दाखेल्दै केशव आमाले खोकेको सुन्छ । आमालाई प्रश्न सोध्न मन लाग्छ तर खाना पकाउन ब्यस्त आमाको काममा बाधा पुर्याउन चाहदैन केशव । साँझको करिब सवा पाँच बजेतिर कसैले ढोका घचघच्याएको आवाज आउछ । को हँ ? भन्दै पार्वती ढोका खोल्छिन् । ओ हो ! विमलाको शिक्षिका पो हुनुहुँदो रहेछ, भित्र पाल्नुुस न । शिक्षिका भित्र कोठामा छिर्दा उनलाई सास फेर्न गाह्रो हुन्छ । कोठामा ढुसी गह्नाएको छ, लाग्छ यस कोठाले कहिल्यै घाम देखेको छैन । शिक्षिका यसो आँखा घुमाउँछिन् । एउटा कुनामा खाना पकाउने ग्याँस र चूलो छ । भित्ता र दलिन खाना पकाएको तेलको खारले कालो भएको छ । अर्को कुनामा लुगाको थुप्रो छ । भूइँमा ओछ््यान लगाएर सुतेकी विमलाले ओढेकी सिरकमा प्वाल नै प्वाल छ, जसबाट कपास बाहिर निस्केको छ । ढोकाको छेउमा राखेको मुसा समात्ने खोरभित्रको रोटीको टुक्रामा ढुसी आइसकेको छ, सायद मुसा समात्ने प्रयास अझै जारी छ । कोठाका कुनामा माकुराको जालो जताततै प्रश्टै देखिन्छ ।

घरभित्रको अर्को ठूलो प्रदूषणको स्रोत भनेको जाडोयाममा झ्याल ढोका लगाएर हिटर वा मकल बाल्नु हो । यस्तो गर्दा समय समयमा झ्याल ढोका खोल्नु उपयुक्त हुन्छ । राती झ्याल ढोका लगाएर हिटर बालेर सुत्दा ठूलो दुर्घटना भएको र ज्यान पनि गएको कुरा हामीले सुनेका पनि छौं । ग्याँसले हाम्रो आँखा पिरो हुने र त्यसबाट निस्कने कार्बन डाईअक्साइड भन्ने बिषालु ग्याँस सास फेर्दा हाम्रो फोक्सोमा जान्छ र हामी बिरामी पर्छौँ । तपाईँहरूले यो गल्ती कहिल्यै नगर्नु होला ।

अगाडिको राखेको पुरानो बाँसको मुढामा बस्न आग्रह गर्दै पार्वतीले भनिन्, के कति कारणले पाल्नु भयो ? केही दिनदेखि विद्यालयमा विमलालाई नदेखेर किन आइनन् भनेर बुझ्न आएकी हुँ, शिक्षिकाले उत्तर दिइन् । ए, विमलालाई सच्चो भएन । हिजो बेलुकीमात्र डाक्टर कहाँ लगेर आएकी । के भन्यो त डाक्टरले ? प्रदूषणले एलर्जी भएर खोकी लागेको छ रे । डरलाग्दो खोकेकी छे यसले । औषधी दिँदा पनि ठिक नभएर डाक्टर कहाँ देखाउन लगेकी ।

शिक्षिका मनमनै सोच्न थाल्छिन्, यस्तो कोठामा बस्ने मानिस बिरामी नभए को हुन्छ त ? हामी घरबाहिरको प्रदूषणको बारेमा कुरा गछौ तर घर भित्रको प्रदूषणको कुरा कहिल्यै गर्दैनौँ । त्यस कारणले मानिसहरूले घरभित्रको प्रदूषण र असुरक्षित बसाइका बारेमा कुरा सुनेका पनि हुँदैनन् । बरु यिनलाई यसका बारेमा सूचना दिन पाए उनीहरूको असुरक्षित बसाइमा परिवर्तन आउँने थियो कि ? यी कुरा सोच्दै उनी त्यहाँबाट आफ्नो घरतिर लाग्छिन् ।

शिक्षिकाले बिहान विद्यालय पुग्नेबित्तिकै प्रधान अध्यापकलाई भेटेर आफूले विमलाको घरमा देखेको कुरा बताइन् । दुवै जनाले यस्तो स्थितिमा सुधार ल्याउनुपर्छ भन्ने संकल्प गरी वातावरणविद् पुष्कर सरलाई विद्यालयमा बोलाएर घरभित्रको प्रदूषणका बारेमा छलफल गर्ने योजना बनाए । आगामी शनिबार ११ बजे बिहानको कार्यक्रम बनाएर सबै विद्यार्थी, अभिभावक, टोलका महिला, युवा र युवतीलाई सहभागी हुन आमन्त्रण गरियो ।

घरधन्दा गरी केहीबेर ढिलो गरेर पार्वती र उनका छोरा विद्यालय पुग्दा कार्यक्रम सुरु भइसकेको थियो । विद्यालयको प्राङ्गणमा कुर्सिहरू मिलाएर राखिएका थिए । प्रधान अध्यापक, केही शिक्षक र आमन्त्रित वातावरणविज्ञ अगाडि बसेका थिए । वरिपरि विद्यार्थी, अभिभावक, टोलका महिला, पुरुष, युवा र युवती बसेका थिए । बोल्नेपालो पुष्कर सरको थियो र भर्खर माइक समातेका मात्र थिए । मुख्य सुन्नु पर्ने कुरा छुटेको रहेनछ भनेर खुसीहुँदै पार्वती, विमला र विमलाको भाई कुर्सिमा बस्छन् ।

पुष्कर सरले प्रधान अध्यापक र सबै आगन्तुकको स्वागत गदै आफ्ना कुरा सुरु गर्छन् । आज मलाई यस विषयमा बोल्ने मौका दिनुभएकोमा म यस विद्यालयका प्रधान अध्यापकको हृदयदेखि आभारी छु र सबैलाई सप्रेम । धेरैजसो मानिसले मलाई वातावरणको र घरबाहिरको प्रदूषणको विषयमा छलफल गर्न बोलाउने गर्छन् तर आज घरभित्रको प्रदूषणको बारेमा छलफलका लागि बोलाइएको यो पहिलो पटक हो । तपाईँहरूलाई पनि लाग्ला बाह्य प्रदूषण र यसले स्वास्थ्यमा गर्ने हानिको कुरा गर्नु पर्ने बेलामा हामी घरभित्र हुने प्रदूषणको कुरा गर्दैछौं । के छ घरभित्र त्यस्तो, जसले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गर्ने ? कोही बताउन सक्नुहुन्छ ?

सर, हाम्रो गाँउतिर घरभित्र खाना पकाउन दाउरा बालेर धुवाँले प्रदूषण भएको त थाहा छ तर शहरमा हामी ग्याँस चूलो प्रयोग गछौं । यसले पनि प्रदूषण गर्छ र ? एक विद्यार्थी प्रश्न गर्छन् । अर्का विद्यार्थी थप्दै भन्छन्, गाउँमा मेरो वुवा बिरामी भएको बेलामा हामीले घरमा पालेका कुखुराबाट रोग सरेको र कुखुरालाई घरभित्र न ल्याउनु भनेर डक्टरले भन्नुभएको थियो तर शहरको घरमा त कुखुरा पनि पालिँदैन् घरमा, कसरी हुन्छ घरभित्र प्रदूषण ?

ठीक भन्यौ बाबु तिमीले, अब एकछिन हामी आफू बस्ने घर हाम्रो विचारमा ल्याउँ त, पुस्कर सर भन्छन् । सोचौँ के के छन् हाम्रो घरमा जसले प्रदूषण गर्छन् । कतिपय हामी काठमाडौंबाहिरका छौं । यहाँ हाम्रो घर नहुँदा भाडामा बसेका छांै । यस्तो खचाखच भएको शहरमा कतिपयले त राम्रो ठाउँमा घर भाडामा पाएका छौं तर धेरैजसो हामीले अनेक कारणले स्वस्थकर वातावरण भएको घरमा बस्न पाएका छैनौँ । सानो गल्लीबाट जानुपर्ने, घामको मुखै देख्न नपाउने घरहरूमा बस्न बाध्य छौं ।

हो सर, हाम्रो घरमा कहिल्यै घाम आउँदैन । चिसो ओसले गर्दा हाम्रो लुगा सधैँ ढुसी गह्नाउँछ । अर्कौ ठाँउमा जाउँ भन्छु आमा मान्नहुन्न । घाम आउने कोठामा बस्न पाएमा ढुसी गह्नाउने लुगा लगाउनु पर्ने थिएन र घामले रोग ल्याउन सक्ने सूक्ष्म कीराहरू पनि मार्ने थियो, विमलाले थपिन् । हगी मिस ? भन्दै आफ्नो घरमा आएकी शिक्षिकालाई आफ्नो घरको अवस्थाबारे केही बताइदिन आग्रह गर्छिन् । त्यसमा थग्दै पुष्कर सरले पनि उनलाई विमलाको घरभित्र देखेको प्रदूषणका बारेमा छोटो विश्लेषण गर्न आग्रह गर्छन् ।

आदरीण प्रधान अध्यापकज्यू, शिक्षक, विद्यार्थी, अभिवाभक र पाहुना । यहाँहरू सबैलाई मेरो सादर नमस्कार । विद्यालयको दायित्व भनेको विद्यार्थीको बौद्धिक ज्ञान बढाउनेमात्र नभएर शारीरिक र मानसिक विकास गर्नु पनि हो । त्यसै कारणले हामीले यस विद्यालयमा पढ्ने विद्यार्थी, उनका अभिभावक र यस टोलका महिला र पुरुषलाई घरभित्रको वातावरणका बारेमा जागरुक गर्ने प्रयास गरेको छौं । यो हाम्रो पहिलो प्रयास हो ।

म केही दिन अघि विमलाको घर पुगेकी थिएँ । उनले भनेको जस्तो घरभित्रका वातावरण निस्सासिँदो थियो । परिस्थितिले गर्दा साँगुरो कोठामा खाना पकाउने, सुत्ने, र पढ्ने गर्नु पर्दो रहेछ । जमिनको ओसले गर्दा कोठमा भएका सामानहरूमा ढुसी लागेको छ । कोठा नै गह्नाएको छ । खाना पकाएको ग्याँस र खार झ्याल नहुँदा बाहिर जान नसकी कोठाको भित्ता र दलिनमा नै टाँसिएर रहेको छ । मुसा र अरु किरा फट्याङ्गरा रोग बोकेर आउँदा हुन् । साच्चै भन्ने हो भने बस्न लायकै छैन । त्यसैले होला गत हप्ता डाक्टरले भनेझै विमला प्रदूषणको कारणले बिरामी भएकी थिइन् । प्रदूषणले भन्नेबित्तिकै हामी घरबाहिरको कारणले बिरामी भएको भन्ने ठान्छौँ तर घरभित्रको प्रदूषण झन घातक हुन्छ, जहाँ हामी दैनिकरूपमा बस्छौँ, सुत्छौँ र खान्छौँ ।

पुस्कर सर- धन्यवाद शिक्षिका ! अब म विस्तारमा केहि कुरा राख्छु, कृपया ध्यान दिएर सुन्नुहोला । केहीबेर अघि कसैले दाउरा बाल्ने कुरा गर्नुभएको थियो । प्रदूषण हुन घरमा भित्र दाउरा बाल्नु जरुरी छैन । घरमा धेरै वस्तु हुन्छन्, जसले हाम्रो स्वास्थ्यमा नकरात्मक असर गरिराखेको हुन्छ । ग्याँसमा खाना पकाइन्छ तर ग्याँस बालेको बेलामा धुँवा सजिलोसँग बाहिर जानसक्ने झ्याल ढोका खोलेको हुनुपर्दछ वा ग्याँसलाई बाहिर फाल्ने पंखा चलाएको हुनुपर्दछ । नत्र त्यसको धुँवा, ग्याँस वा खारले हाम्रो स्वास्थ्यमा खराबी गर्छ ।

घरभित्रको अर्को ठूलो प्रदूषणको स्रोत भनेको जाडोयाममा झ्याल ढोका लगाएर हिटर वा मकल बाल्नु हो । यस्तो गर्दा समय समयमा झ्याल ढोका खोल्नु उपयुक्त हुन्छ । राती झ्याल ढोका लगाएर हिटर बालेर सुत्दा ठूलो दुर्घटना भएको र ज्यान पनि गएको कुरा हामीले सुनेका पनि छौं । ग्याँसले हाम्रो आँखा पिरो हुने र त्यसबाट निस्कने कार्बन डाईअक्साइड भन्ने बिषालु ग्याँस सास फेर्दा हाम्रो फोक्सोमा जान्छ र हामी बिरामी पर्छौँ । तपाईँहरूले यो गल्ती कहिल्यै नगर्नु होला ।

अर्को सम्झनु पर्ने कुरा भनेको कोठमा जलाएको धुप, बालेको कपुर र चुरोटको धुँवा हाम्रो स्वास्थ्यका लागि धेरै नै हानीकारक हुन । धुप जलाउने हो भने झ्याल खुल्ला राख्नुपर्छ । आजकल लामखुट्टे मार्ने विभिन्न किसिमका धुप र केमिकल बजारमा पाइन्छ । त्यसमा जे लेखिए तापनि यस्ता केमिकलले हाम्रो स्वास्थ्यमा नकरात्मक असर गर्छ । सकेसम्म लामखुट्टे मार्न वा रोक्न झुलको वा बिनाकेमिकलको उपाय अपनाउनुपर्छ ।

भान्छाको फोहर फाल्ने टोकरी पनि दिनहु खाली गरी सफा गर्नु पर्छ नत्र फालिएको खाना कुहिएर रोग लाग्न सक्छ । बजारमा सफा गर्ने विभिन्न रसायनहरू पाइन्छ, जसको प्रयोगले भान्छाका चूलो र टेबुलहरू सफा गर्न सकिन्छ । त्यस्तै घरमा पालेका कुकुरको रौ, कपडाका खेलौनामा वा सिरकमा खादेको कपास, कुना काप्चामा हुने ढुसी, गलैँचामा रहेको धुलो आदिले हाम्रो घरभित्र प्रदूषण गर्छ र हामीलाई बिरामी पार्दछ । यस्ता धेरै साना धुलोका कण हाम्रो फोक्सोमा पुग्छ र स्वासप्रस्वाससम्बन्धी रोग लाग्नसक्छ वा हामीलाई एलर्जी भएर खोकी लाग्ने र जिउ चिलाउने हुन्छ ।

हामीले मुसा र अरु कीराफट्याङ्गरा मार्न प्रयोग गर्न ल्याएका बिषादी, शरीरमा छर्कन ल्याएका विभिन्न किसिमका स्प्रेहरूले सबैलाई एकै किसिमले असर गर्दैन, कसैलाई बढी कसैलाई कम गर्छ । त्यसैले यस्ता चिज ल्याउँदा निकै सोचविचार गर्नुपर्छ । घरको झ्याल वा ढोकाको माथि परेवा र अन्य कुनै चरका गुँढ भएमा पनि विभिन्न रोग ल्याउने किटाणु ल्याउन सक्छ । त्यसैले, यस्ता चरालाई बस्न नदिनु उपयुक्त हुन्छ । यिनका प्वाँखमा वा शरीरमा रहने सानासाना कीराहरूले हाम्रो स्वास्थमा नकरात्मक असर गर्छ । त्यस्तै, घरमा मुसा आएमा पनि विभिन्न रोग ल्याउन सक्छ ।

शहरका अधिकांश घरमा जाडोमा न्यानोे र गर्मीमा चिसो बनाउने विभिन्न किसिमका उपकरण जडिएका हुँदैनन्् । झ्यालहरू दिनभरि खुल्ला रहन्छन् । त्यसको फलस्वरूप बाहिरको धुलो र प्रदूषण हाम्रो घरमा सजिलैसँग छिर्ने गर्छ । सडक किनाराका यस्ता घरमा त जति हामी बाहिर असुरक्षित छौं त्यतिनै घर भित्र पनि हुन्छौं । हामी कतिपयले बाध्यताले यस्तो असुरक्षीत ठाँउमा बस्न परेको छ । यति कुरा याद राखौँ कि स्वस्थ रहन धेरै महँगो विधि अपनाउनु पर्ने छैन । मैले माथि भनेको जस्तो कुराहरूमा ध्यान दिनुभएमा स्वस्थ रहन मद्दत पुग्छ । यो सरल र सस्तो पनि छ ।

हो सर, विमलाले थपिन् । यति धेरै कुरा सुनेपछि अब हामी पनि व्यवस्थित भई आफू बसेको घरलाई सुरक्षित बनाउँछौं र स्वस्थ रहन्छौं, हैन आमा ? भन्दै विमला पुलुक्क पार्वतीतिर हेर्छिन् । आमाको हात समातेर विमला र उनका भाई सबैलाई घन्यवाद दिई विद्यालयबाट बाहिर निस्कन्छन् ।

Article Source: www.parisambad.com