Click here for COVID 19 Updates

कोभिड -१९ र गैर-संक्रमित रोग : विश्वमा एकसाथ चुनौती

दीक्षा घिमिरे

 विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस  महामारीले  गम्भीर रुप लिएको छ  र सबैको ध्यान आकर्षण गरेको छ। विकसित राष्ट्रहरुमा लाखौ जनसंख्या संक्रमित भएका छन् , हजारौ मानिसले ज्यान गुमाइसकेका छन् भने विकासोन्मुख देशहरुमा यस भाइरसको संक्रमण तिव्र गतिमा फैलीरहेको छ। यद्यपी हामी सबै यस भाइरसको नतिजाबाट प्रभावित भएका छौ भने केहि  उच्च जोखिमा छौं  । विश्व स्वास्थ्य संगठनले गरेको रिपोर्ट अनुसार, कोरोना भाइरसले सबै उमेर समूहका व्यक्तिहरुलाई असर गर्न सक्छ तर पाका  उमेरका  र गैर-संक्रमित रोग ( एनसिडी)को साथ बाचिरहेका मानिसमा यसको संक्रमण  बढी देखिन्छ।

कोरोना भाइरस बाट मृत्यु हुनेहरुको  संख्या, आन्तरिक रुपमा विश्वव्यापी स्वास्थ्य र यसका दीर्घकालीन अवस्थाहरुसंग  सम्बन्धित छन् । “वर्ल्ड हार्ट फेडेरेशन” का अनुसार गैर-संक्रमित रोग बिशेष गरि दम, मुटु रोग, उच्च रक्तचाप  र मधुमेहका  बिरामीहरु  कोभिड-१९ को गम्भीर जोखिम हुने  व्यक्तिहरुमा पर्दछन्  । तसर्थ अहिलेको कोभिड -१९ को परिदृश्यमा हेर्ने हो भने गैर-संक्रमित रोगहरु  पनि एउटा ठुलो सामाजिक स्वास्थ्यको समस्या हो र यसले थप विश्वव्यापी मृत्यु निम्त्याएको छ।

प्रत्येक  वर्ष गैर-संक्रमित रोग का कारण विश्वव्यापी रुपमा चार करोड दश लाख  व्यक्तिहरुले ज्यान गुमाएको देखिन्छ, जसले विश्व को कूल   मृत्यु हुनेको ७१ प्रतिशत हिस्सा ओगटेको छ।  प्रत्येक  ३० देखि ६९  वर्षसम्म का एक करोड पचास लाख व्यक्तिहरुको गैर-संक्रमित रोगका कारण मृत्यु भएको पाइएको छ, जस मध्ये ८५ प्रतिशत मृत्यु गरिब तथा निम्न वर्गीय राष्ट्रहरुमा भएको पाइन्छ।  यसै गरी कोरोना भाइरसले पनि धेरै पहिलेदेखि गैर-संक्रमित रोग लागेका मान्छेहरुमा धेरै प्रभाव पारेको देखिन्छ।  हालै गरिएको एक सर्वेक्षण अनुसार विश्वव्यापि रुपमा कोरोनाका कारण मृत्यु भएकाहरुमा अरु रोगहरु पनि भएको पाइएको छ, जसमध्ये १३.२% मा मुटुरोग, ९.२% मा मधुमेह  , ८% मा दिर्घकालिन स्वास प्रस्वाश  सम्बन्धि रोग, ८.४% मा रक्तचाप  र ७.६% मा क्यान्सर रहेको पाइएको छ।  तुलनात्मक  हिसाबले अरु कुनै पनि रोग नलागेका व्यक्तिहरुमा कोरोनाको कारण मृत्यु भएको संख्या अति कम छ, जसले जम्मा ) 0.९% भाग मात्र ओगटेको छ, ।

हालसालै नेपालमा पनि कोरोनाका कारण मृत्यु भएकाहरुमा डोल्पाका ५८ वर्षीय पुरुषको दमको कारण मृत्यु भएको  र धनगढीका ५५ वर्षीय महिलामा पनि मृघौलामा समस्याको कारण मृत्यु भएको पाईएको छ। यसैगरी गुल्मीमा ३६ वर्षीय पुरुषको क्यान्सरका कारण, दोलखा मा ७६ वर्षीय पुरुषको रक्तास्राब पक्षघात  (हेमोर्ररेजीक स्ट्रोक) को कारण र स्याङ्जा ६० वर्षीय पुरुषको मृगौलामा समस्याका कारण मृत्यु भएको पुष्टि गरिएको छ। यसैगरी इटालीमा  गरिएको एक सर्वेक्षण अनुसार , कोरोना भाइरसले ज्यान गुमाएका मानिसहरु मध्ये ९६.२% मानिसहरुलाइ अरु रोग पनि थियो  जसमध्ये  ३१.८% मा रक्तचाप  , ३१.८% मा मधुमेह , २८.२% मा हृदयघात , १६.९ % मा दम र १६.३% मा क्यान्सर भएको पाइयो। चाइनामा कोरोना लागेका १,५९० बिरामीमा गरिएको सर्वेक्षण अनुसार २५.१% मा  एउटा अर्को “मेडिकल डिसअर्डर” रहेको  जसलाई “कोमोरबिटिज” भनिन्छ र १६.९% मा  मधुमेह र रक्तचाप रहेको पाइएको छ। अमेरिका र बेलायतका अस्पतालहरुबाट भर्खरै गरिएको एक तथ्यांक अनुसार कोभिड-१९ रोग लागेका युवा बिरामीहरुमा, मोटोपना सबैभन्दा ठुलो जोखिमको रुपमा देखिएको छ। यसै गरी स्पेन  र  संयुक्त राज्य अमेरिकामा पनि कोरोना र गैर-संक्रमित रोगका  बीच धेरै प्रत्यक्ष सम्बन्ध रहेको पाइएको छ।

कोभिड-१९ र गैर संक्रमित रोगको प्रभाव बहुमुखी छ। सामाजिक दूरी वा क्वारेन्टाइनले अस्वस्थ आहार , शारीरिक निस्कृयता, सुर्तीजन्य र रक्सीको प्रयोगलाई बढावा दिएमा  गैर संक्रमित रोगको व्यवहार र व्यवस्थापनमा असर पुर्याउन सक्छ। अनुचित व्यवस्थापन, असुरक्षित आर्थिक अवस्था र दैनिक  स्वास्थ्य व्यवहारमा परिवर्तनको कारण दीर्घकालिन अवस्था बिग्रिन सक्छ।  अन्य स्वास्थ्य सेवा जस्तै नियमित मेडिकल जांच  र परिक्षणहरुको स्थगनले गैर संक्रमित रोग व्यवस्थापनमा ढिलाई भईरहेको छ।  अहिल्रे देशमा प्राथमिक स्वास्थ्य सेवा, फार्मेसी र सामुदायिक सेवाहरुको प्रतिबन्धले गैर-संक्रमित रोगका बिरामीहरुको हेरचाहमा  निरन्तर बाधा पुगिरहेको छ  ।  धेरै व्यक्तिहरु जसलाई मुटु रोग, क्यान्सर, मधुमेह जस्ता रोगहरुको लागि उपचार चाहिन्छ, उनीहरुले अहिले आवश्यक स्वास्थ्य सेवा र औषधि प्राप्त गर्न सकेका छैनन्। स्तन र पाठेघर क्यान्सरका लागि स्क्रिनिंग अभियान पनि अवरुद्ध छ। गैर-संक्रमित रोगका सेवाहरु आंसिक वा पूर्ण रुपमा अवरुद्ध भएको छ र नियमित स्वास्थ्य सेवा र चिकित्सा आपूर्तिको अवरोधले गैर-संक्रमित बिरामीहरुमा समय बित्त्दै जादा असक्तता र मृत्युदरको जोखिम बढिरहेको छ ।

अहिलेसम्म प्रकाशित र रिपोर्ट गरिएका सबै प्रमाणहरुको संयोजन गर्दा कोभिड-१९ को वर्तमान परिदृश्यलाई ध्यानमा राख्दा यो स्पष्ट  छ कि कोभिड -१९ माहामारिले विश्वव्यापी गैर-संक्रमित रोगको संकटलाई अझ तीव्र बनाउने छ। जब समग्रमा अन्तराष्ट्रिय समुदाय , राष्ट्रिय र स्थानीय सरकार कोभिड-१९ को विरुद्ध लडिरहेका छन् , यो अवस्थामा गैर-संक्रमित रोगको भूमिकालाई सम्झनु महत्वपूर्ण हुन्छ ।  नेपालको जन-स्वास्थ्यको आँखाले  हेर्दा  कोरोना नियन्त्रणको लागि लिनुपर्ने कदमहरु र गैर-संक्रमित रोगको व्यवस्थापनक लागि गरिने कामहरुमा परस्पर सम्बन्ध देखिन्छ।  समुदाय र स्वास्थ्य प्रणालीहरुले  उच्च जोखिम समूहमा रहेका व्यक्तिहरुको रोगको निदान गरेर जोखिम व्यवस्थापन गर्न आवश्यक छ।  विभिन्न जनचेतना मुलक कार्यक्रमहरु मार्फत गैर-संक्रमित रोगको नियन्त्रण र रोकथाम गर्न सकिन्छ र कोभिड-१९ को कारणले उत्पन्न भएका समस्याहरु कम गर्नका लागि सान्दर्भिक नीतिहरु, उपकरण र कार्यक्रमहरु लागू गर्न जरुरि छ। विभिन्न क्षेत्रहरु जस्तै : स्वास्थ्य, आर्थिक, शिक्षा, कृषि, शहरी  योजना आदि क्षेत्रहरु बीच सहकार्य गरि गैर-संक्रमित रोगको व्यवस्थापनमा राम्रो लगानी गरेर मृत्यु दरलाई कम गर्न सकिन्छ।  हामी स्वास्थ्य सेवाहरुलाई पुन: निर्माण गर्न तयार हुनुपर्छ ताकी हामी भविष्यमा कुनै पनि परिस्थितिमा गैर-संक्रमित रोगलाई रोक्न र निदान गर्न सक्षम हुन्छौ।  तसर्थ आजबाट नै हामीले गैर-संक्रमित रोगप्रति ध्यान केन्द्रित गरेनौ भने, अब आउने आघामी दिनहरुमा गैर-संक्रमित रोगले विश्वव्यापी महामारीको रुप लिन्छ भन्ने कुरा निश्चित जस्तै छ।